काठमाडौं। कप्तान अञ्जन विष्टको दुई गोलसँगै न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गरेको हो। जितसँगै एनआरटीले फाइनल प्रवेश गर्न आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेशलाई चुनौती पेस गर्नेछ।
यो खेल मंगलबार हुनेछ। आयोजकको टोलीले शनिबार विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो। पराजित फ्रेन्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ।
खेलको सुरुआती समयदेखि नै फ्रेन्ड्सलाई दबाबमा राखेको एनआरटीले १९औं मिनेटमा सुरुआती अग्रता लिएको थियो। एञ्जल श्रेष्ठले निकाल्दिएको थ्रु बलमा अञ्जनले गोल गरेका हुन्। त्यसको पाँच मिनेटपछि नै उनले नै अग्रता दोब्बर बनाए।
यसपल्ट भने उनले कृतिशरत्न छुन्जुले दिएको बललाई हेडरमार्फत जाली चुमाए। पहिलो हाफमै २–० को अग्रता लिएको एनआरटीले त्यसपछि पनि निरन्तर आक्रमण बुनिरह्यो।
दोस्रो हाफको सुरुआतमै रिचर्ड विल्सनले एकल प्रयासमा गोल गर्दै अग्रता ३–० मा पुर्याए। ८१औं मिनेटमा कप्तान विवेक पौडेलले फ्रेन्ड्सका लागि गोल गरेका थिए। डोकु इसराइलको क्रसमा उनले गोल गरे पनि त्यो सान्त्वना मात्रै रह्यो।