काठमाडौं। सभापति कप फुटबल प्रतियोगितामा आइतबार अन्तिम क्वार्टरफाइनलमा न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लब आमने सामने हुने छन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ। यो खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा हुने छ।
सेमिफाइनलमा संकटा र मच्छिन्द्र खेल्ने पक्का भइसकेको छ। यस्तै, आयोजक नेपाल लोकतान्त्रिक खेलकुद बागमती प्रदेश (आयोजक)को टोलीले पनि सेमिफाइनलमा स्थान बनाएको छ।
आयोजकको टोलीले विभागीय क्लब नेपाल पुलिसमाथि २–१ गोलको पुनरागमन जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। एनआरटी र फ्रेन्ड्सबीचको विजेताले मंगलबार फाइनल प्रवेशका लागि आयोजक टिमसँग खेल्ने छ।
सोमबारफाइनल प्रवेशका लागि संकटा र मच्छिन्द्र आमने सामने हुने छन्। प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ। यसैगरी उपविजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ।
प्रतियोगितामा प्रत्येक खेल खेल्ने टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ द म्याचले १५ हजार पाएका छन्।