काठमाडौं। किलियन एमबाप्पेले बललाई आफ्नो जर्सीभित्र राख्दै दुवै हात उठाएर रियल मड्रिडका समर्थकहरूको अभिनन्दनलाई स्वीकार गरे।
फ्रान्सका स्टार खेलाडी एमबाप्पेले आइबार बिहान सम्पन्न खेलमा संघर्षरत भालाडोलिडविरुद्ध ३–० को जित दिलाएका हुन्। यो उनको रियलबाट पहिलो ह्याट्रिक हो। यो जितसँगै ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको रियलको अग्रता थप बलियो बनेको छ। सिजनको मध्य बिन्दु पार गरेपछि आफ्नो उपाधि रक्षा गर्ने अवस्थामा रियल पुगेको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट रियल आएका एमबाप्पेको प्रारम्भिक महिनामा अस्थिर प्रदर्शन गरेका थिए। पेनाल्टी मिस गर्नेक्रम अब समाप्त भएको देखिन्छ। पछिल्ला दुई खेलमा लगातार एकभन्दा बढी गोल गरेका एमबाप्पेले रियललाई उत्कृष्ट लयमा फर्काएका छन्, जबकि एट्लेटिको मड्रिड र बार्सिलोनाले भने खराब प्रदर्शन गर्दै अंक गुमाइरहेका छन्।
‘ह्याट्रिक गर्न पाउँदा निकै खुसी छु। तर, जित निस्किँदा अझ बढी खुसी छु,’ एमबाप्पेले स्पेनिस भाषामा भने, ‘एट्लेटिकोको नतिजापछि हामीलाई थोरै दबाब थपिएको थियो। त्यसलाई कम गर्न यो जित अत्यन्त महत्त्वपूर्ण थियो।’
ला लिगामा रियलको यो लगातार चौथो जित हो। यसका साथै एट्लेटिको मड्रिडले भिलारियलसँग १–१ को बराबरी खेलेपछि कार्लो एन्सेलोट्टीको टोलीले आफ्नो सिटी प्रतिद्वन्द्वीमाथि चार अंकको अग्रता कायम गरेको छ। रियलले २१ खेलबाट ४९ अंक पुर्याएको छ। तेस्रो स्थानमा रहेको बार्सिलोना १० अंकले पछाडि छ र उसले आइतबार भ्यालेन्सियालाई घरेलु मैदानमा चुनौती पेस गर्नेछ।
केही समयअघि बार्सिलोनाभन्दा रियल पछाडि थियो। तर, ४–० को क्लासिको पराजयपछि टोलीले आफ्नो लय समातेको छ र अहिले उपाधि दाबेदारी प्रस्तुत गरेको छ।
‘टोलीसँगको मेरो असमझदारी समाप्त भएको छ। म मैदानमा सहज महसुस गरिरहेको छु र यो मेरो खेलबाट स्पष्ट देखिन्छ,’ एमबाप्पेले भने, ‘यसले हामीलाई आत्मविश्वास दिन्छ। तर, लिगको ३८औं खेलसम्म जित्दै जानुपर्छ। किनभने अझै लामो यात्रा बाँकी छ।’