काठमाडौं। केही सेकेन्ड बाँकी रहँदा विमला चौधरीको खतरा टार्दै साबिक विजेता एपिएफ एन्फा महिला लिगको फाइनलमा पुगेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न पहिलो क्वालिफायरमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि २-१ को पुनरागमन जित हात पारेको हो। एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन्। आर्मीका लागी हिमा चौधरीले गरेको गोल सान्त्वना रह्यो।
एपिएफ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो। पराजित आर्मीले भने एपिएफसँग अर्को भेट पक्का गर्न दोस्रो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग खेल्ने छ। यो खेलमा जित निकाल्न सके आर्मीले पुन: एपिएफसँग भेट पक्का गर्नेछ।
खेलको आठौं मिनेटमा मैदानको मध्यभाग नजिकबाट विमला विकले प्रहार गरेको फ्रिकिक बल गोलकिपर सावित्री किसनसामु पुगिसकेको थियो। तर, हिमाले त्योभन्दा अगाडि बललाई टच गर्दै गोलमा परिणत गर्दिइन्। हिमा लामो समयपछि आर्मीको लाइनअपमा फर्किएकी हुन्।
आर्मी जितनजिक पुगिसकेको थियो। तर, अन्तिममा एक मिस पासले गर्दा एपिएफलाई खेलमा फर्किने अवसर जुर्यो। ७८औं मिनेटमा विमला चौधरीले गोलकिपर अञ्जना रानामगरलाई ब्याक पास दिएकी थिइन्। उक्त बल अञ्जनाले क्लियर गर्दा एपिएफकी कप्तान अनिता बस्नेतसम्म पुगेको थियो।
उक्त बललाई अगाडि प्रहार गर्नेक्रममा विमला विकले हेडरमार्फत क्लियर गर्न नसक्दा रश्मिले सहजै टप कर्नरबाट गोल गरिन्। अञ्जनाले उक्त बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन्।
८८औं मिनेटमा रश्मिले नै अर्को गोल थपिन्। प्रीति राईसँग तालमेल मिलाउँदै पेनाल्टी बक्ससम्म पुगेको बललाई रश्मिले अन्जनालाई बिट गर्दै गोल गरेकी हुन्। लिगम रश्मिको यो ३५औं गोल हो।
इन्जुरी समयको अन्तिमतिर एपिएफका डिफेन्डरले गरेको गल्तीमा विमलाले उत्कृष्ट अवसर बनाएकी थिइन्। तर, गोलकिपर सावित्रीले अगाडि बढेर उत्कृष्ट बचाउ गर्दिन।