काठमाडौं। एर्लिङ हालान्डले म्यानचेस्टर सिटीसँग थपेको सम्झौताले विश्व फुटबललाई आश्चर्यचकित बनायो। र, यो घटना उनलाई ठिकै लागेको छ।
‘पक्कै पनि यो अलि असामान्य छ, सामान्य छैन। तर, यो मलाई ठिक लागेको छ। यो मेरा लागि सजिलो निर्णय थियो, उनले भने, ‘म निकै खुसी छु, मेरो परिवार पनि निकै खुसी छ।’
२४ वर्षीय नर्वे स्ट्राइकर सन् २०२२ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट इङ्लिस प्रिमियर लिग क्लब सिटीमा अनुबन्ध भएका हुन्। त्यसयता सिटीको जर्सीमा १२५ खेलका उनले १११ गोल गरिसकेका छन्। उत्कृष्ट लयमा रहेका हालान्डका लागि फुटबलमा यो सबैभन्दा लाभदायक सम्झौतामध्ये एक हो, जुन यो सिजनको सुरुदेखि १० वर्षसम्म लागू हुनेछ।
सन् २०३४ सम्मको यो सम्झौता प्रिमियर लिगको सबैभन्दा लामो हो। यो सम्झौतासँगै हाल्यान्डले हप्तामा लगभग पाँच लाख पाउन्ड कमाउने बताइएको छ। यो सम्झौताको आकारले उनलाई दुई स्पेनिस जायन्ट्स बार्सिलोना या रियल मड्रिडजस्ता अझ ठूला क्लबमा जान सक्ने सम्भावनालाई पनि सीमित गर्ने देखिन्छ, जबसम्म कसैले ठूलो रकम तिर्न तयार हुँदैन। उनी यसमा पनि ठिकै छन्।
‘म म्यानचेस्टरमा धेरै वर्ष बिताउन आतुर छु। यो अद्भुत हुनेछ,’ हाल्यान्डले भने,‘मैले महसुस गरेको भावना र मैले कुरा गरेको व्यक्तिहरूले मलाई यो सही निर्णय हो भनेर विश्वस्त बनाए।’
पछिल्लो समय सिटी खराब लयमा छ। तर, यो खराब समय सकिनेमा हाल्यान्ड विश्वस्त छन्। ‘क्लबमा एकदम सकारात्मक ऊर्जा महसुस गरिरहेको छु। यो कठिन समय थियो र सबैलाई थाहा छ। मलाई लाग्छ, त्यो समयबाट बाहिर निस्केका छौं,’ उनी भन्छन्। यो सम्झौता सिटीलाई प्रिमियर लिगको वित्तीय नियम उल्लंघनका ११५ आरोप लागेको अवस्थामा भएको हो। सम्भावित सजायमा अंक कटौती या शीर्ष डिभिजनबाट रेलिगेसन पनि हुनसक्छ।
यो विषय हाल्यान्डको निर्णयमा असर पार्ने छ। ‘मैले यो बारेमा सोचेकै छैन। क्लबलाई आफूले गरिरहेको कुराबारे राम्ररी थाहा छ,’ उनले भने।