काठमाडौं। लिग चरणमा अपराजित रहँदै जनकपुर नाइट्स नेपाल कबड्डी लिग (एनकेएल) को क्वालिफायरमा पुग्ने पहिलो टोली बनेको छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा काठमान्डु माभरिक्ससँग ३९-३९ को बराबरीमा रोकिँदै जनकपुरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। बराबरीसँगै दुवै टोलीले समान तीन अंक जोडे।
जनकपुरले पाँच खेलबाट चार जित र एक बराबरीसहित २३ अंक बनायो। काठमान्डुले भने पहिलो क्वालिफायरमा स्थान बनाउन विराटनगर नाइट्सको नतिजामा भर पर्नुपर्ने छ। विराटनगरले शनिबार जितविहीन पोखरा लेकर्ससँग प्रतिस्पर्धा गर्नेछ। काठमान्डुको १९ अंक रहँदा एक खेल कम खेलेको विराटनगरको १६ अंक छ।
खेलको अन्तिमतिर जनकपुर एक पोइन्टले पछाडि थियो। तर, साहिद अन्सारीले रेडबाट एक पोइन्ट ल्याउँदै खेल ३९-३९ मा टुंगाएका हुन्। अन्तिम अन्तिम रेडमा कुनै पनि टोलीले जोखिम लिएनन् र खेल बराबरीमा सकियो।
जनकपुरले रेडबाट २१, ट्याकलबाट चार, दुई अलआउटबाट चार र बोनसबाट ६ पोइन्ट बटुलेको थियो। काठमान्डुले भने रेडबाट १६, ट्याकलबाट ११, दुई अलआउटबाट चार र बोनसबाट आठ पोइन्ट जोड्यो।
पहिलो हाफमा जनकपुर आठ अंकले पछि परेको थियो। काठमान्डुले २५ जोड्दा जनकपुरले भने १७ पोइन्ट मात्रै जोड्न सक्यो। रेडबाट मात्रै काठमान्डुले १७ पोइन्ट बटुलेको थियो। ट्याकलबाट एक, दुई अलआउटबाट चार र बोनसबाट तीन पोइन्ट जोड्दै जनकपुरलाई दबाब थपेको थियो। जनकपुर भने यो हाफमा ट्याकल र बोनसमा मात्रै हाबी रह्यो। उसले रेडमा ६, ट्याकलमा चार, एक अलआउटमा दुई र बोनसमा पाँच पोइन्ट जोडेको थियो।
दोस्रो हाफमा भने जनकपुर रेड र ट्याकलमा सुधार गर्दै खेलमा फर्कियो। जनकपुरले रेडमा १०, ट्याकलमा सात, एक अलआउटमा दुई र बोनसमा तीन पोइन्ट बटुल्यो। सोही बेला काठमान्डुले रेडमा सात, ट्याकलमा तीन र बोनसमा चार अंक मात्रै थप्न सक्यो।