काठमाडौं। अमृता जैशीको निर्णायक गोलसँगै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न इलिमिनेटरमा सर्लाहीको बागमती युथ क्लबलाई पुलिसले १-० ले पराजित गरेको हो। योसँगै पुलिसले फाइनल प्रवेश गर्न पहिलो क्वालिफायरबाट बाहिरिने टोलीसँग खेल्नेछ। पहिलो क्वालिफायरमा एपिएफ र त्रिभुवन आर्मी क्लब शनिबार यही मैदानमा भिड्ने छन्।
बागमतीले निर्धारित ९० मिनेटसम्म पुलिसलाई गोलरहित बराबरी रोकेको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा अमृताले गोल गर्दै पुलिसको जित पक्का गरिन्।