काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित स्ट्राइकर विमल घर्तीमगरले दशरथ रंगशालामा एक वर्षपछि पुनरागमन गर्दैछन्।
उनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा मच्छिन्द्र फुटबल क्लबबाट पुनरागमन गर्न लागेका हुन्। शुक्रबार उनको टोलीले विभागीय टोली एपिएफसँग साँझ ५:३० बजे खेल्दैछ।
उनले अन्तिपल्ट यो रंगशालामा चितवन एफसीबाट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेका थिए। अस्ट्रेलियाबाट फर्किएका उनलाई चितवनले ‘आकोनिक प्लेयर’ बनाएको थियो। तर, चितवन आठ खेलबाट नौ अंक जोड्दै सातौं स्थानमा रहेर प्लेअफ पुग्न चुकेको थियो।
मच्छिन्द्रका अध्यक्ष अनिल श्रेष्ठका अनुसार उनलाई मोफसलका प्रतियोगिता खेल्न भित्र्याइएको हो। उनले अन्तिमपल्ट मच्छिन्द्रको जर्सीमा १४औं जितपुरसिमरा गोल्डकपको फाइनल खेलेका थिए। गत बैशाख ४ गते भएको फाइनलमा नेपाल पुलिस क्लबले टाइब्रेकरमा मच्छिन्द्रलाई ४–३ ले पराजित गरेको थियो।
‘मच्छिन्द्रले सभापति कपपछि आहा रारालगायत अरु गोल्डकप खेल्दैछ। त्यसैले उनलाई अनुबन्ध गरिएको हो,’ उनले खेलपाटीसँग भने।