काठमाडौं। कप्तान सन ह्युङ–मिनले दुवै हाफमा गोल गर्दै टोटनह्यामलाई युरोपा लिगमा होफेनहाइममाथि ३–२ को रोमाञ्चक जित दिलाए।
यस जितसँगै टोटनह्यामले लिगको शीर्ष आठमा स्थान सुरक्षित गर्ने सम्भावना बलियो बनाएको छ। टोली अहिले १४ अंकसहित चौथो स्थानमा छ र अन्तिम खेलअघि आफ्नो स्थिति मजबुत बनाएको छ।
खेलको तेस्रो मिनेटमै टोटनह्यामका मिडफिल्डर जेम्स म्याडिसनले लामो पासलाई उत्कृष्ट रूपमा नियन्त्रणमा लिँदै गोल गरे। २२औं मिनेटमा सनले अग्रता दोब्बर बनाए।
होफेनहाइमले खेलमा पुनरागमन गर्ने प्रयास गर्यो। आन्द्रेज क्रामारिचको हेडर क्रसबारमा लागेर बाहिरिँदा होफेनहाइमको ठूलो अवसर गुमयो। खेलको करिब एक घण्टापछि होफेनहाइमलाई पेनाल्टी दिने निर्णय गरिए पनि रेफ्रीले भिएआर जाँचपछि निर्णय उल्ट्याउँदै टोटनह्यामका गोलकिपर ब्रान्डन अस्टिनलाई दिएको पहेंलो कार्ड र पेनाल्टी दुवै रद्द गरे।
६८औं मिनेटमा होफेनहाइमका एन्टोन स्टाचले काउन्टर–अट्याकबाट आएको क्रसलाई पोस्टमा पठाउँदै गोल गरे। तर, ७७औं मिनेटमा सनले अर्को गोल गर्दै टोटनह्यामको अग्रता पुनः दुई गोलको बनाए।
८६औं मिनेटमा होफेनहाइमका डेभिड मोक्वाले आन्द्रेज क्रामारिचको क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै खेलमा फर्कने आशा जीवित राखे पनि अन्त्यमा टोटनह्यामले जित निकाल्यो।