काठमाडौं। अस्ट्रेलियाका म्याट रसले नेपाली राष्ट्रिय फुटबल सम्हाल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १६ सेप्टेम्बर, २०२४ मा १५ दिने सूचना जारी गर्दै राष्ट्रिय टिमको लागि मुख्य प्रशिक्षकको आवेदन खुला गरेको थियो। त्यसमा चार सय बढीले आवेदन दिएका थिए। एन्फाको टेक्निकल कमिटीले अन्तिम चरणमा अन्तर्वार्ताको लागि पाँच जना छनोट गरेको थियो। त्यहीबाट रसलाई फाइनल गरिएको हो।
रस नेपाल आइसकेका छन्। उनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको सभापति कप पनि हेरेका थिए। उक्त कपमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० ले पराजित गर्दै संकटा फुटबल क्लबले सेमिफाइनलमा स्थान बनाएको छ।
एन्फा स्रोतका अनुसार उनी युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन्। यद्यपि, एन्फाले आधिकारिक रूपमा घोषणा गर्न बाँकी छ। सात महिनाअघि एन्फाले विश्वकप/एसियन कप छनोटको अन्तिम खेलमा यमनविरुद्ध २–२ मा टुंगिएको खेलपछि इटालियन भिन्सेन्जो अल्बर्टो एनेसको करार एन्फाले थपेको थिएन। त्यसपछि एन्फाले मुख्य प्रशिक्षकको लागि आवेदन खोलेको थियो।
गत नोभेम्बरमा डुसान्बेमा भएको ताजिकिस्तान र अफगानिस्तानविरुद्धका दुई मैत्रीपूर्ण खेलमा नेपाली टिम नवीन न्यौपानेले सम्हालेका थिए। घरेलु टिम ताजिकिस्तानविरुद्ध ४–० ले हारेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि जित हासिल गर्ने क्रममा २–० को नतिजा निकालेको थियो।
नेपाली पुरुष टिमले सन् २०२५ मा साफ च्याम्पियनसिप, एसियन कप २०२७ छनोटको तेस्रो चरण तथा मैत्रीपूर्ण खेलहरूमा प्रतिस्पर्धा गर्दै छ।