काठमाडौं। बुन्डेसलिगामा सानदार उडान भरिरहेको बायर्न म्युनिख च्याम्पियन्स लिगमा भने पलपलमा ठेस खाइरहेको छ।
बुधबार फेयनूर्डसँग ३–० को पराजयले बायर्नको राउन्ड अफ १६ पुग्ने आशामा धक्का पुगेको हो। यो सिजनको च्याम्पियन्स लिगमा बायर्नको यो तेस्रो हार हो।
बुधबार राति फेयेनोर्डसँग ३–० को हार बेहोर्दै बायर्नले यस सिजनको तेस्रो पराजय बेहोरेको हो। अब बायर्नले प्लेअफ खेलेरै अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ।
बायर्नका रिजर्भ गोलकिपर स्वेन उलरिचलाई खेलको अन्त्यमा रेफ्रीको निर्णयमा आपत्ति जनाउँदा रातो कार्ड पाएका थिए। बायर्नले खेलभरिमा धेरै मौका सिर्जना गरे पनि गोल गर्न नसकेन। तर, विपक्षीले सजिलै गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो।
‘हामीले कति धेरै ठूलो मौका सिर्जना गर्यौं, कति धेरै प्रयास गर्यौं, तर ती सबै सदुपयोग गर्न असफल भयौं। अहिले हामी विपक्षीका लागि गोल गर्न सजिलो बनाइरहेका छौं। यो निकै नराम्रो हो,’ बायर्नका मिडफिल्डर जोशुआ किमिचले भने।
खेलको तथ्यांक हेर्दा बायर्न बल कब्जा, प्रहार, पास पूरा, बल पुन: कब्जा गर्ने र दौडनेजस्ता सबै पक्षमा हावी थियो। तर, एक मात्र महत्त्वपूर्ण कुरा थियो—गोल।
फेयेनोर्डका लागि स्यान्टियागो गिमेनेजले दुई गोल गरे भने आयासे उएडाले काउन्टर अट्याकमार्फत तेस्रो गोल गर्दै टोलीलाई प्रभावशाली जित दिलाए। ‘कसैले हामीले जित्ने अपेक्षा गरेका थिएनन्। त्यसैले यो जितले हामीलाई अझै खुसी बनाएको छ। फुटबलको सबैभन्दा सुन्दर पक्ष भनेकै यस्ता अप्रत्याशित नतिजा हुन्,’ उनले भने।
गिमेनेजको पहिलो गोल उत्कृष्ट पहिलो टचको माध्यमबाट आएको थियो भने दोस्रो गोल पेनाल्टीमार्फत भयो। यो पेनाल्टी रफाएल ग्युरेरोले क्याल्भिन स्टेङ्सलाई लडाएपछि दिइएको थियो।
बायर्नका खेलाडीहरूले फाउल गरेर विपक्षीलाई रोक्ने प्रयास गरे पनि अन्ततः उएडाले गोल गर्दै फेयेनोर्डको जित पक्का गरे। खेलको क्रममा लियोन गोरेट्ज्काले फाउल गरेबापत कार्ड पाए भने ह्यारी केनले आफ्नो ५०औं च्याम्पियन्स लिग खेलमा रेफ्रिको निर्णयप्रति आपत्ति जनाएपछि पहेंलो कार्ड पाए।
‘हामीले इमान्दारीपूर्वक स्वीकार्नुपर्छ कि फेयेनोर्डले जित्न लायक थियो। हामी दौड्यौं, लड्यौं तर पर्याप्त भएन। फेयेनोर्डले गोल गर्दा हामीले आश्चर्य मान्नुपरेन। यो सुरुदेखि नै त्यस्तै थियो,’ बायर्नका प्रशिक्षक भिन्सेन्ट कम्पनीले भने।
बायर्न हाल बुन्डेसलिगामा चार अंकको अग्रता बनाएर शीर्ष स्थानमा भए पनि च्याम्पियन्स लिगमा उनीहरूको प्रदर्शन निराशाजनक छ। यसअघि टोली एस्टन भिल्ला र बार्सिलोनासँग पराजित भइसकेको थियो।
३६ टोली सहभागी च्याम्पियन्स लिगको अंक तालिकामा बायर्न १५औं स्थानमा झरेको छ। अब अन्तिम आठमा पुग्न र प्लेअफ टार्न बायर्नले अर्को साता स्लोभान ब्राटिस्लावामाथि जित हासिल गर्नैपर्नेछ।
‘तालिकाले कहिल्यै झुट बोल्दैन। हामीले स्वीकार्नुपर्छ कि अहिले हामी शीर्ष टोली होइनौं। शीर्ष टोलीले यस्तो खेल हार्न सक्दैन। अझै केही कुरा हामीबाट छुटिरहेको छ,’ किमिचले बताए।
यो सिजनको च्याम्पियन्स लिगको फाइनल म्युनिखमै खेलिनेछ। तर, बायर्न म्युनिखले आफ्नो घरेलु मैदानमा फाइनल पुग्ने सपना पूरा गर्न अझै धेरै मिहिनेत गर्नुपर्नेछ।