काठमाडौं। भिनिसियस जुनियरले बुधबार रियल मड्रिडका लागि १०० गोल पूरा गर्दै च्याम्पियन्स लिगमा साल्जबर्गविरुद्ध ५–१ को जितमा योगदान दिए। यो जितसँगै रियलले च्याम्पियन्स लिगको प्लेअफमा स्थान पक्का गरेको छ।
भिनिसियसले खेलमा ९९औं र १००औं गोल गर्दै आफ्नो कीर्तिमान पूरा गरेका हुन्। युएफएका अनुसार च्याम्पियन्स लिगमा भिनिसियसले २८ गोल गरिसकेका छन्, जसले उनलाई ब्राजिलियन शीर्ष गोलकर्ताको सूचीमा तेस्रो स्थानमा पुर्याएको छ। नेयमार ४३ गोलसहित शीर्ष स्थानमा छन् भने काका ३० गोलसहित दोस्रो स्थानमा छन्।
तर, रियलका अनुसार भिनिसियसले क्लबका लागि १०१ गोल गरेका छन्। यो फरक मतको कारण एक ला लिगा गोललाई लिएर हो, जसलाई धेरैले आत्मघाती गोल मान्छन्। ‘कहिलेकाहीँ गोलकिपर कहाँ छन् भन्ने हेर्ने समय हुन्छ,’ भिनिसियसले भने, ‘गोलले मलाई अझ राम्रो खेलाडी बनाइरहेको छ। रियलको सुरुआती समयमा म धेरै गोल गर्दिन्थें, तर अहिले म कहिलेकाहीँ खराब खेले पनि दुई गोल गर्न सक्छु। यो राम्रो बानी हो।’
रियल च्याम्पियन्स लिगको १५ पटकको कीर्तिमानी च्याम्पियन हो। यसपटकको नयाँ फर्म्याटमा सुरुआती ६ खेलमध्ये तीन खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिने जोखिममा थियो। ‘आजको रात हाम्रो प्रदर्शन लगभग सम्पूर्ण थियो। तर, हामीले अझै राम्रो प्रदर्शन गर्नुपर्छ,’ भिनिसियसले भने। उनी म्यान अफ द म्याच घोषित भए।
यो जितसँगै रियल ३६ टोलीको लिग चरणमा १६औं स्थानमा पुगेको छ। ‘हामीसँग केही कुरा सुधार गर्न बाँकी छ, तर अहिले राम्रो लयमा छौं,’ रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले भने, ‘हाम्रो लक्ष्य जित्ने र राम्रो खेल्ने थियो। हामीले अलि नरम सुरुआत गर्यौं, तर पछि सुधार गर्यौं।’
रोड्रिगोले रियलका लागि दुई गोल थपे भने साल्जबर्गका गोलकिपर जानिस ब्लासविचको गल्तीको फाइदा उठाउँदै किलियन एमबाप्पेले अर्को गोल गरे। रोड्रिगोले पछिल्ला चार खेलमा पाँच गोल गरेका छन् भने भिनिसियसले दुई खेलमा तीन गोल गरेका छन्। एमबाप्पेले पनि पछिल्ला चार खेलमा पाँच गोल गरेका छन्।
जुड बेलिङ्घमले भिनिसियसको एक गोलका लागि उत्कृष्ट ब्याक–हिल पास दिएका थिए। तर, उनी ६४औं मिनेटमा पिठ्युँको चोटका कारण मैदान छाड्न बाध्य भए। प्रशिक्षक एन्सेलोटीका अनुसार उनको चोट गम्भीर छैन। रियलले आफ्नो अर्को खेल फ्रान्सेली क्लब ब्रेस्टसँग खेल्नेछ।