काठमाडौं। च्याम्पियन्स लिगअन्तर्गत बुधबारका खेल नाटकीय रह्यो। यो लिगका नौ खेलमा ३३ गोल भए। बार्सिलोना र बेन्फिकाबीचको खेलमा मात्रै नौ गोल भए।
राफिन्हाले स्टपेज टाइममा गोल गर्दै बार्सिलोनालाई लिस्बनमा जित दिलाए। यद्यपि, खेलमा १५ मिनेटभन्दा कम समय बाँकी रहँदा बार्सिलोना ४–२ ले पछाडि थियो।
बेन्फिकाका भान्जेलिस पाभलिडिसले च्याम्पियन्स लिग खेलको सुरुआतमा तेस्रो छिटो ह्याट्रिक गरे, जसमा उनका दुई गोल बार्सिलोनाका गोलकिपर वोज्सिच स्जेस्नीको गल्तीले भए। उनले दोस्रो मिनेट, २२औं र ३०औं मिनेटमा गोल गरेका हुन्।
बार्सिलोना सात खेलबाट १८ अंकसहित दोस्रो स्थानमा छ र नयाँ वर्षदेखि अहिलेसम्म सबै प्रतियोगितामा अपराजित छ। ‘हामी खेल परिवर्तन गर्न सक्ने मानसिकतासहित आएका थियौं,’ राफिन्हाले भने, ‘हामीले हार मानेनौं र जित्न सफल भयौं।’
रोबर्ट लेवान्डोस्कीले बार्सिलोनाका लागि दुई पेनाल्टी गोल गरे। उनी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता हुन्। योसँगै उनको गोल संख्या नौ पुगेको छ।
अर्को स्पेनी क्लब एट्लेटिको मड्रिडलाई बेयर लेभरकुजेनमाथि २–१ को पुनरागमन जित हात पार्न ९०औं मिनेटमा जुलियन आल्भारेजले गोल गरे। पाब्लो बारियोसलाई २३औं मिनेटमा रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो। लेभरकुजेनका लागि पिएरो हिन्कापिएले हेडरबाट गोल गरेपछि पहिलो हाफमा एट्लेटिको १–० ले पछि परेको थियो।
आल्भारेजले ५२औं मिनेटमा गोल गर्दै खेलको लय परिवर्तन गरे र हिन्कापिएले दोस्रो पहेँलो कार्ड पाएर बाहिरिएपछि फेरि अर्को गोल गर्दै एट्लेटिकोलाई तेस्रो स्थानमा पुर्याए।
एट्लेटिकोले सात खेलबाट १५ अंक पुर्याएको छ। समान खेल खेलेको लेभरकुजेन १३ अंकसहित छैटौं स्थानमा छ।