काठमाडौं। भारतको सिक्किममा आयोजित १०औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको उपाधि झापा ११ ले जितेको छ।
सिक्किमको जोरथाङ रंगशालामा मंगलबार सम्पन्न खेलमा झापा ११ ले सहिद स्मारक ‘ए’ डिभिजन च्याम्पियन क्बल चर्च ब्वाइज युनाइटेडलाई २–० ले हारएको हो। उपाधिसँगै झापा ११ ले २० लाख भारु हात पारेको छ। उपविजेता चर्च ब्वाइज युनाइटेडले १० लाख भारुमा चित्त बुझाएको छ।
खेलको पहिलो हाफमै प्रदीप बूढाथोकीले झापा ११ लाई सुरुआती अग्रता दिलाएका थिए। अर्को हाफमा सन्तोष खत्रीले गोल गर्दै झापाको जित पक्का गरे।
झापा ११ सेमिफाइनलमा भारतको हिरो लिग क्लब सुदेवा दिल्ली एफसीलाई २–१ ले हराउँदै फाइनल पुगेको थियो। चर्च ब्वाइजले भने इन्टरनेसनल एफसी पञ्जाबमाथि टाइब्रेकरमा ५–४ को जित हात पार्दै झापा ११ सँगको भेट पक्का गरेको थियो।