काठमाडौं। थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारविरुद्ध गोल वर्षा गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा थ्री स्टारले ५–१ को जित निकालेको हो। योसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ। छैटौं हार बेहोरेको खुमलटार अंकविहीन छ ।
थ्री स्टारको जितमा राज बम, रोहित दवाडी, रोशन तामाङ, भूपेन्द्रबहादुर राउत र सुमित बल्मपाकीले गोल गरे। खुमलटारका सुवास मगरले दोस्रो हाफको इन्जुरी समयमा गोल फर्काए पनि हार टार्न सकेनन्।
२८औं मिनेटमा थ्री स्टारलाई राजले सुरुआती अग्रता दिलाएका थिए। ४३औं मिनेटमा रोहितले अग्रता दोब्बर बनाए। रोशनले ५२औं मिनेटमा गोल गर्दै उक्त अग्रता ३–० मा पुर्याए। निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा भूपेन्द्रले अर्को गोल थपे।
तर, इन्जुरी समयको पहिलो मिनेटमा सुवासले पेनाल्टीमार्फत गोल गर्दै खुमलटारलाई ४–१ मा ल्याए। त्यसको तीन मिनेटपछि नै सुमितले अर्को गोल थप्दै थ्री स्टारलाई ५–१ को फराकिलो जित दिलाए।