नेपालगञ्ज । खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याएका बाँके जिल्लाका पूर्व खेल पदाधिकारीहरुले लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
सोही सन्दर्भमा सोमबार नेपालगन्ज रंगशालामा आयोजना गरिएको पूर्व खेल पदाधिकारीहरुको समन्वयात्मक छलफल कार्यक्रममा सहभागिहरुले प्रतियोगितालाई सभ्य र भव्यरुपमा सफल बनाउन खेलाडी र टीमको उच्चस्तरीय व्यवस्थापन, आर्थिक सबलीकरण तथा आमदर्शकहरुमा प्रतियोगिताप्रतिको रुची बढाउनुपर्नेमा समेत जोड दिएका छन् ।
कार्यक्रममा मध्यपश्चिम राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य बिनोद मैनाली, राजेन्द्र शाही र सुमित्रा चौधरीले लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको आयोजना नेपालगन्जका लागि ठूलो अवसरका रुपमा रहेको बताए।
लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य जनक केसी, पूर्व सदस्य नरेन्द्र थापा, तत्कालिन मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष अकलबहादुर बम, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष आतंक बस्नेत, मोहित शाह र गोविन्द वाग्लेले प्रतियोगितालाई सफल बनाउन आयोजक टीमले सबै पक्षलाई गोलबद्ध गर्न जरुरी भएको सुझाव दिए ।
सो अवसरमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, मिडिया संयोजक नीरज गौतम, समन्वय तथा परिचालन उपसमिति संयोजक तेजविक्रम शाह र बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले प्रतियोगिता आयोजना तयारीका बारेमा जानकारी गराएका थिए ।