काठमाडौं। केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
एमबाप्पेले रियलबाट आफ्नो पहिलो सिजनमा केही खेलमा संघर्ष गरेका थिए। तर, अब उनले स्पेनिस पावरहाउसका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन्। एट्लेटिको मड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा पुगेको रियलले दोस्रो हाफमा अग्रता लियो। एमबाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे।
शनिबार लेगानेससँग १–० ले पराजित भएपछि एट्लेटिकोले १५ खेलको जितको कीर्तिमानी यात्रा टुंग्याएको थियो। एट्लेटिको रियलभन्दा दुई अंकले पछि परेको छ। शनिबार गेटाफेमा भएको खेलमा १–१ गोलको बराबरी खेलेको मड्रिडले तेस्रो स्थानको बार्सिलोनामाथि सात अंकको अग्रता बनाएको छ।
जनवरी १२ मा साउदी अरबमा भएको स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग ५–२ को लज्जास्पद हार बेहोरेको रियलको लिगमा यो लगातार दोस्रो जित हो। सान्टियागो बेर्नाबेउ रंगशालामा आइतबार भएको खेलको पहिलो मिनेटमै फाबियो सिल्भाले पाल्मसलाई सुरुआती अग्रता दिलाएका थिए। तर, विपक्षी डिफेन्डरले रोड्रिगोलाई फाउल गरेपछि एमबाप्पेले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।
३३औं मिनेटमा डियाजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। ३६औं मिनेटमा रोड्रिगोको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरे। रोड्रिगोले ५७औं मिनेटमा अर्को गोल थपे। उनको यो तीन खेलमा तेस्रो गोल हो।
एमबाप्पेले पहिलो हाफको अन्त्यतिर ह्याट्रिक गरेको ठानेका थिए। तर, उनको गोललाई अफसाइड करार दिइयो। दोस्रो हाफमा भिडियो रिभ्युपछि जुड बेलिङघमको गोलले पनि मान्यता पाएन। निलम्बनका कारण रियल फरवार्ड भिनिसियस जुनियोरबिना नै मैदान उत्रिएको थियो।