काठमाडौं। अन्तिम स्थानको साउथह्याम्पटनविरुद्ध ३–२ को जितसँगै नटिंघम फरेस्टले इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलाई उपाधि दाबेदारीमा चुनौती प्रस्तुत गरेको छ।
जितसँगै तेस्रो स्थानमा रहेको फरेस्टको ४४ अंक भएको छ, जुन शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ६ अंक कम हो। साउथह्याम्पटन भने ६ अंकका साथ पुछारमा छ।
फरेस्टले खेलमा धैर्यता प्रदर्शन गर्यो र पहिलो हाफमा गरेको तीन प्रयास गोलमा परिणत भयो। साउथह्याम्प्टनको टोलीले फरेस्टको प्रभावशाली प्रदर्शनको खासै जवाफ दिन सकेन। यद्यपि, खेलको अन्तिम क्षणमा फरेस्टले आफ्नो अग्रता गुमाउने स्थितिमा पुगेको थियो।
खेलको १० औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले इलियट एन्डरसनको पास गोल गर्दै फरेस्टलाई सुरुआती अग्रता दिलाए। यो उनको सिजनको पहिलो गोल हो। ‘मैले गोल गर्न धेरै मिहिनेत गरेको छु। साथीहरू पनि मलाई बल प्रहार गर्न भनिरहेका थिए,’ एन्डरसनले बीबीसीलाई बताए,‘ जब ठाउँ मिल्यो, प्रहार गरिहालें।’
साउथह्याम्पटनका डिफेन्डर जान बेदनारेकको पहिलो टचले क्रिस वुडलाई बल हात पार्न थप सहज बनायो र फरेस्टले १७ मिनेटपछि दोस्रो गोल गर्यो। यसपल्ट उनको क्रसमा हुन्डोसन ओडोइले गोल गरेका हुन्।
ब्रेकभन्दा चार मिनेटअघि नै खेल समाप्त भएकोजस्तो देखिन्थ्यो। वुडले ओला आइनासँग तालमेल मिलाउँदै हेडरमार्फत गोल गरे। ‘आजको पहिलो हाफ जस्तो फेरि कहिल्यै नहोस्। फरेस्टको पहिलो दुई गोल त अविश्वसनीय रह्यो,’ साउथेम्प्टनका प्रशिक्षक इवान जुरिचले भने।
फरेस्टले ३-० को अग्रता लिइसकेको थियो। तर, साउथेम्प्टनले खेलको एक घन्टा पूरा हुँदा अकस्मात एक गोल फर्कायो। लेस्ली उगोक्चुक्वुको प्रहार टिममेट बेडनारेकको खुट्टामा डिफ्लेक्ट भएर किपर माट्ज सेल्सलाई छल्दै क्रसबार मुनि पुग्यो।
साउथेम्प्टनले थप गोलको खोजी जारी राख्यो। एरिबो र पाउल ओनुआचुले सेल्सलाई थप केही समय व्यस्त बनाएका थिए। १२ मिनेटको अतिरिक्त समय दिइएपछि पाहुना टोलीले खेलमा फर्किने मौका पायो।
ओनुआचुले कर्नरबाट आएको बललाई हेडर गर्दै गोल गरे र अचानक साउथेम्प्टनले फरेस्टमाथि दबाब बढायो। घरेलु टोलीले आइनाप्रति आभारी रहनुपर्यो, जसले बेडनारेकको हेडरलाई जाली चुम्नुअघि क्लियर गरे।
‘हामीले खेल निकै राम्रो सुरु गर्यौं तर दोस्रो हाफमा आफैंलाई कठिन बनायौं,’ फरेस्टका गोलकर्ता एन्डरसनले भने,‘अन्ततः हामीले तीन अंक लिएर खुसी छु।’ फरेस्टले आफ्नो अपराजित यात्रा आठ लिग खेलसम्म पुर्याएको छ।
यो अवधिमा फरेस्टले लिभरपुलसँग १-१ बराबरी खेल्दै अंक गुमाएको छ। यता, साउथेम्प्टनका प्रशिक्षक जुरिचले डिसेम्बरमा जिम्मेवारी सम्हालेदेखि सबै पाँच लिग खेल गुमाएका छन्।