काठमाडौं। नेपाललाई पराजित गर्दै घरेलु भारतको महिला टोलीले प्रथम खो खो विश्वकप जितेको छ। दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपालको अपराजित यात्रामा ब्रेक लगाउँदै भारतले उपाधि हात पारेको हो।
प्रियंका इङ्गलको नेतृत्वमा भारतले ७८–४० को सानदार जित निकाल्यो। घरेलु टोलीले आक्रमण र रक्षा दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जितको कुनै मौका दिएन।
भारतले पहिलो टर्नमा ३४–० को फराकिलो अग्रता लियो। दोस्रो टर्नमा नेपालले केही नजिक पुग्न सकेर स्कोरलाई ३५–२४ बनाउन सफल भयो। तर, तेस्रो टर्नमा भारतले ३८ थप अंक जोड्दै खेलको नतिजा लगभग आफ्नो पक्षमा पार्यो। अन्तिम टर्नमा नेपाल आक्रमणमा जाँदा भारतको रक्षाले कठिनाइमा पारे र नेपालले केवल १६ अंक मात्र जोड्न सक्यो। अन्ततः भारतले ७८–४० को जितसँग उपाधि जित्यो।
भारत प्रतियोगिताभर अपराजित रहँदै उपाधि जित्न सफल भएको हो। तीन खेलमा तीन जितसहित भारत समूह ए को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो। भारतले दक्षिण कोरियाविरुद्ध १७५–१८ को सानदार जितसहित प्रतियोगिताको सुरुआत गरेको थियो। त्यसपछि इरानविरुद्ध १००–१६ र मलेसियाविरुद्ध १००–२० को जित निकाल्यो। भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६६–१६ ले पराजित गर्दै फाइनलमा स्थान बनायो।
नेपाल पनि फाइनलसम्म अपराजित थियो। समूह चरणमा बंगलादेश, श्रीलंका, भुटान र जर्मनीलाई नेपालले हरायो। सेमीफाइनलमा युगान्डालाई ८९–१८ ले हराएर नेपालले भारतसँगको उपाधि भिडन्त पक्का गरेको थियो। तर, भारतसँगको खेलमा नेपालले आफ्नो अवसर गुमायो र विश्वकप जितेर इतिहास बनाउन चुक्यो।