काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा हुन लागेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिड्ने भएका छन् ।
निर्देशन समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले खेल तालिका सार्वजनिक गरेका हुन् ।
८ टिमको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल बिहीबार दिउँसो ३ बजे हुने छ । हरेक दिन एक एक खेल हुने पत्रकार सम्मेलनमा जनकारी गराइयो । प्रतियोगितामा आयोजकको टिम पनि रहेको छ ।
आयोजक टिमको रूपमा नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश बागमतीले खेल्ने छ ।
त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपीएफ क्लब, १२ गते पुलिस क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेश र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबीच खेल हुने आयोजकले जनाएको छ । खेल नकआउट हुने छ भने १४ र १५ गते सेमिफाइनलका खेल हुनेछन् । फाइनल खेल १७ गते हुने छ ।
प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउने छ भने उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी हरेक खेलमा म्याच फीको रूपमा प्रत्येक टिमले ५० हजार पाउने छन् भने प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ प्रदान गरिने छ ।
फाइनलका दिन सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा काँग्रेस सांसद एवं महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । पछिल्लो समय नेपालले खेलकुदमा सफलता हासिल गरे पनि खेलाडी टिकाइ राख्ने वातावरण नभएको भन्दै ध्यान दिन सबैलाई आग्रह गरे ।
प्रतियोगिताको अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराउँदै आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तित्वहरूको नाउँमा देशव्यापी प्रतियोगिताहरू आयोजना गर्ने प्रस्ट पारे । सभापति कप हरेक २–२ वर्षमा आयोजना हुने जानकारी दिइयो ।
बिहीबार हुने प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र समापन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने छन् ।