काठमाडौं। एन्फा महिला लिगको क्वालिफायर–१ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ भिड्ने भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा वालिङ नगरपालिकालाई ६–१ ले पराजित गर्दै आर्मीले एपिएफसँगको भेट पक्का गरेको हो। जितसँगै आर्मीले सात खेलमा १६ अंक जोड्यो। यो हारसँगै अंकविहीन वालिङ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। फाइनल राउन्डको अन्तिम खेलमा आर्मीले एपिएफसँग खेल्ने छ।
त्यस्तै वालिङले बागमतीसँग खेल्न बाँकी छ। यी दुवै खेलले समीकरणमा कुनै असर पार्ने छैन। आर्मीको जितमा चन्द्रा भण्डारी एक्लैले पाँच गोल गरिन्। त्यस्तै, विमला चौधरीको नाममा एक गोल रह्यो। वालिङकी मिना देउवाको गोल सान्त्वना बन्न पुग्यो।