काठमाडौं। प्रिमियर लिगमा शनिबार एस्टन भिल्लासँग २–२ को बराबरीमा दुई अंक गुमाएको आर्सनलको चिन्ता विलियम सालिबाको चोटले थप बढाएको छ। उनलाई खेलबाट बाहिर राखिएको थियो।
सालिबा टोलीको सूचीमा पनि थिएनन्। उनले टोटनह्याम हटस्परविरुद्धको २–१ को जितमा ह्यामस्ट्रिङ चोट बेहोरेका थिए। फ्रेन्च डिफेन्डर आर्सनलको रक्षाको अभिन्न हिस्सा हुन्। सन् २०२२–२३ सिजनको बीचमा क्लब भित्रिएका थिए। उनको अनुपस्थितिले म्यानचेस्टर सिटीसँगको उपाधि दौडमा आर्सनलको सम्भावनालाई कमजोर देखिन्छ।
‘मलाई लाग्छ भोलि हामीसँग थप जानकारी हुनेछ, हामीले थप परीक्षणहरू गर्नेछौं र यसबारे स्पष्ट हुनेछौं,’ प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘पक्कै पनि (हामी चिन्तित छौं) विशेष गरी हामीसँग टोलीमा रहेका संख्या र हाम्रो बेञ्चलाई हेर्दा निकै चिन्तित छौं।’
सालिबाको स्क्यानले कुनै गम्भीर चोट नदेखाओस् भन्नेमा उनी प्रार्थना गरिरहेका छन्। तथ्यांक अनुसार सालिबा आर्सनलका लागि महत्त्वपूर्ण छन्। सालिबा टोलीमा हुँदा आर्सनलको जित दर ७२ प्रतिशत छ। तर, उनको अनुपस्थितिमा त्यो दर ३८ प्रतिशतमा झर्छ।
आर्टेटाले आफ्नो रक्षा पुनःसंरचना गर्न बाध्य भए। उनले जुर्रियन टिम्बरलाई ग्याब्रिएलसँग मिलेर सेन्टरमा राखेका थिए। मिडफिल्डर थोमस पार्टीलाई अस्थायी रूपमा राइट ब्याकमा खेलाएका थिए।
आर्सनलले ग्याब्रिएल मार्टिनेली र काय हाभर्ट्जको गोलले २–० को अग्रता लिएको थियो। तर, भिल्लाले ओली वाटकिन्स र यौरी टाइलेम्यान्सको गोलमा अंक खोस्न सफल भयो।
आर्टेटाले आफ्नो टोलीको प्रदर्शनको प्रशंसा गरे। तर, दोस्रो गोलको रक्षात्मक कमजोरीलाई आलोचना गरे, जहाँ म्याटी क्यासले क्रस पठाए र वाटकिन्सले उत्कृष्ट भलीमा गोल गरे।
‘हामी आफैंलाई पनि दोष दिन सक्छौं। रक्षात्मक रूपमा जसरी खेलेका थियौं। त्यसमा गम्भीर चुक भयो,’ उनले भने। आर्सनलले भिल्लासँग बराबरी खेलेपछि लिभरपुलले ६ अंकको अग्रता लिएको छ। २२ खेलबाट आर्सनलको ४४ अंक छ। तर, एक खेल कम खेलेको लिभरपुलको ५० अंक छ।