काठमाडौं । आर्सनलले ‘लन्डन डर्बी’ मा टोटेनहमलाई २–१ ले पराजित गर्दै प्रिमियर लिगमा शीर्षस्थानमा रहेको लिभरपुलसँगको दूरी चार अंकमा छोट्याएका छ । यस्तोमा आर्सनलले लिभरपुलभन्दा बढी खेल खेलेको छ ।
इमिरेट्स स्टेडियममा जित निकाल्दै आर्सनल लयमा फर्किन आवश्यक थियो । किनभने न्युकासल युनाइटेडविरुद्ध काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा हारेपछि एफए कपको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेडविरुद्धका खेल पनि पेनाल्टी सुटआउटमा गुमाएको थियो ।
घरेलु मैदानमा स्पर्सविरुद्ध आर्सनललाई सुरुमै झट्का लागेको थियो । उसललाई पाहुना टिमले पूरा दबाबमा राखेको थियो । दक्षिण कोरियाली फरवार्ड सन ह्युङ–मीनले २५ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अगाडि बढाएका थिए ।
तर, आर्सनलले पहिाले हाफमै राम्रो प्रतिक्रिया दियो । डेक्लान राइसको कर्नरमा ग्याब्रियल उफ्रिएपछि स्पर्स गोलकिपर एन्टोनिन किन्स्की बल रोक्न असफल भए र त्यसैमा डोमिनिक सोलन्केको आत्मघाती गोल बन्न पुगेपछि ४० औं मिनेटमा आर्सनलले १–१ को बराबरी गर्यो । त्यसको चार मिनेटपछि लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए, जुन खेलकै निर्णायक गोल सावित भयो ।
प्रशिक्षक मिकेल अर्टेटाको टिमले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै स्पर्सलाई दबाबमा राख्यो । यो जितले आर्सनललाई उपाधि होडको दाँजोमा उभ्याउनसक्ने बनाएको छ ।