काठमाडौं । न्युकासल इंग्लिस प्रिमियर लिगमा गत डिसेम्बरको सुरुमा १२ औं स्थानमा थियो । तर, उसले लगातार नौ जितसहित क्लबको कीर्तिमान बराबरी गर्दै सेप्टेम्बरयता पहिलोपल्ट शीर्ष चारमा उक्लियो ।
अलेक्जेन्डर आइज्याकले उत्कृष्ट लयलाई निरन्तरता दिने क्रममा दुई गोल गरेपछि न्युकासल गएराती उल्भ्सलाई ३–० ले पराजित गर्दै शीर्ष चारमा पुगेको हो ।
यससँगै आइज्याकले प्रिमियर लिगमा लगातार आठ खेलमा गोल गर्ने न्युकासलका पहिलो खेलाडीको रेकर्ड पनि बनाए र समग्रमा यो रेकर्ड बनाउने उनी चौथो खेलाडी हुन् । यसअघि रुड भान नेस्टलरोय, डानिएल स्टुरिज र जेमी भार्डीले लगातार आठ खेलमा गोल गरेका थिए ।
आइज्याकले ह्याट्रिक त गरेनन् । तर, क्युकासलको तेस्रो गोलमा पनि उनको भूमिका निक्कै महत्वपूर्ण रह्यो । उनकै सहयोगमा एन्थोनी गोर्डनले गोल गरेका थिए । र, घरेलु टिम न्युकासलले उल्भ्सविरुद्ध १ सय १९ वर्षयता पहिलोपल्ट ‘लिग डबल’ गर्यो । अर्थात्, प्रिमियर लिगका दुवै खेल (होम एन्ड अवे) मा न्युकासलले उल्भ्सलाई पराजित गर्यो ।