काठमाडौं । स्पेनिस सुपरकपकोे उपाधि जितेपछि मैदानमा फर्किएको बार्सिलोनाले गएराती रियल बेटिसमाथि ५–१ को प्रभावशाली जित रच्दै कोपा डेल रेकोको क्वाटरफाइनल यात्रा तय गरेको छ ।
टिनएजर्स लेमिन यमलले फेरि उत्कृष्ट प्रदर्शन गर्ने क्रममा एक गोल र एक असिस्ट गरेपछि बार्सिलोनाले लगातार दोस्रो खेलमा ५ गोल गरेको हो । बार्सिलोनाले साउदी अरेबियामा आइतबार भएको स्पेनिस सुपरकपमा चिरपरिचित प्रतिस्पर्धी रियल म्याड्रिडलाई ५–२ ले पराजित गरेको थियो ।
बेटिसविरुद्ध ४६ हजार दर्शकसामु गावीले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १७ वर्षीया यमलको पासमा गुल्स कोन्डेले बार्साको दोस्रो गोल गरे । दोस्रो हाफमा राफिन्ह, फेरान टोरेस र यमलले गोल थपेका थिए । बेटिसको लागि सान्त्वना गोल भिक्टर रकीले ८४ औं मिनेटमा गरेका थिए ।
ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड पनि कोपा डेल रेको अन्तिम आठमा प्रवेश गरेको छ । उसले दोस्रो श्रेणीको एल्चेमाथि ४–० को सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।
त्यस्तै, लेगाने र गेटाफ पनि अन्तिम १६ को प्रतिस्पर्धामा तल्लो डिभिजनका क्लबलाई पन्छाउँदै अगाडि बढेका छन् ।