काठमाडौं। कोमोविरुद्धको खेलमा घाइते भएर मैदान छोड्न परेपछि अमेरिकी खेलाडी क्रिस्टियन पुलिसिकलाई फेरि चोटको चिन्ता बढेको छ।
मंगलबार पहिलो हाफको अन्तिममा पुलिसिक मैदानबाट बाहिर जानु परेको थियो, जसका कारण एसी मिलान केही समयका लागि १० खेलाडीमा सीमित भयो। दोस्रो हाफमा उनलाई एलेहान्द्रो जिमेनेजले प्रतिस्थापन गरे।
२६ वर्षीय पुलिसिकलाई कोमोका डिफेन्डर मार्क–ओलिभर केम्पफले ट्याकल गरेका थिए। उनले तुरुन्तै मेडिकल स्टाफलाई बोलाए र आफ्नो बायाँ घुँडातर्फ संकेत गरे।
शनिबार युभेन्टसविरुद्धको खेलका लागि पुलिसिक उपलब्ध हुने/नहुने अझै स्पष्ट छैन। पुलिसिकले हालै मात्र चोटबाट फर्किएर इटालियन सुपर कपमा कमब्याक गरेका थिए, जुन मिलानले जितेको थियो। उनले आफ्नो दाहिने पिँडुलाको मांसपेशी च्यातिएपछि करिब एक महिना बाहिर रहेका थिए। त्यही बेला खुट्टाको चोटसमेत सामना गरेका थिए।
पुलिसिकले सुपर कपको सेमिफाइनल र फाइनल दुबैमा गोल गरेका थिए। यस सिजनमा उनी मिलानका शीर्ष खेलाडीमध्ये एक बनेका छन्, सिरी ए मा पाँच गोल र चार असिस्ट गरेका छन्। उनले च्याम्पियन्स लिगमा पनि तीन गोल गरेका छन्। मिलानले कोमोलाई २–१ ले पराजित गरेको थियो।