काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको प्लेअफमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा वालिङ नगरपालिकालाई ४–१ ले हराउँदै पुलिसले तीन खेल अगाबै अन्तिम चारमा स्थान पक्का गरेको हो।
पुलिसले पाँच खेलबाट १० अंक पुर्याएको छ। त्रिभुवन आर्मी क्लबको पनि समान अंक छ। एक खेल कम खेलेको साबिक विजेता एपिएफको १२ अंक छ। वालिङ भने अंकविहीन छ।
पुलिसले खेलको आधा घन्टामै तीन गोल गरेको थियो। त्यही गोल जितमा पर्याप्त बन्यो। १५औं मिनेटमा कप्तान निरु थापाले टोलीलाई सुरुआती अग्रता दिलाइन्। २८औं मिनेटमा अनुश्का शेर्पा र त्यसको चार मिनेटपछि नै पूजा रानाले अर्को गोल गरिन्।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा वालिङकी डिफेन्डर धना बोहराले पुलिसलाई एक गोल उपहार दिइन्। ८५औं मिनेटमा यशोदाकुमारी चिरालले गोल गरे पनि पुलिस ४–१ ले विजयी भयो।