काठमाडौं। करण चौधरीको ह्याट्रिकसँगै चर्च ब्वोइजले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि गोलको वर्षा गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा चर्च ब्वोइजले ११–१ को फराकिलो जित हासिल गरेको हो। जारी लिगमा यो अहिलेसम्मकै सबभन्दा ठूलो जित हो। यसअघि थ्री स्टारले आर्मीलाई नै १०–० ले हराएको थियो।
जितसँगै चर्च ब्वोइजले चार खेलबाट ९ अंक पुर्याएको छ। आर्मीको भने जितविहीन यात्रा कायमै छ।
पहिलो हाफमा चर्च ब्वोइजले चार गोल गरेको थियो। आशिक स्याङ्तान, सनिल मगरले समान एक गोल गर्दा आयुष राईले दुई गोल थपे।
दोस्रो हाफमा चर्च ब्वोइजले सात गोल थप्यो। करणले ह्याट्रिक गर्दा आशिषले एक गोल थपे। सनिल,निशान्त र सुशान्त थापामगरले पनि एक/एक गोल गर्दा अभिषेक खत्रीले एक गोल फर्काए।