बागलुङ। श्री मेयर गणले दोस्रो स्मृति कपमा विजयी सुरुआत गरेको छ। बांगेचौर खेल मैदानमा भएको उद्घाटन खेलमा मेयर गणले बागलुङ एकता क्लबलाई ३–० ले पराजित गरेको हो।
खेल सुरु भएको पाँचौं मिनेटमै विकाश मगरको गोलमार्फत मेयर गणले सुरुआती अग्रता लिएकव थियो। दोस्रो हाफमा टोलीले दुई गोल थप्यो।
दोस्रो हाफको १४औं मिनेटमा प्रकाश निरौलाले अग्रता दोब्बर बनाए। त्यसको पाँच मिनेटपछि नै जीवन पाण्डेले अर्को गोल थप्दै फराकिलो जित दिलाए।
बागलुङ एकता क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता छ।
प्रतियोगिताको विजेताले एक लाख २२ हजार र उपविजेताले ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।