काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा हाबी हुँदै बागमती युथ क्लबविरुद्ध शतप्रतिशत जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा आर्मीले बागमतीलाई ३–० ले हराएको हो। यही राउन्डको पहिलो खेलमा आर्मीले २–० को जित निकालेको थियो। योसँगै दोस्रो स्थानको आर्मीले पाँच खेलमा १० अंक पुर्याएको छ।
चौथो स्थानमा रहेको बागमतीको समान खेलबाट तीन अंक छ। आर्मीले छैटौं मिनेटमै सपना लामाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। २२औं मिनेटमा पुनम जर्घामगरको उक्त अग्रता दोब्बर बनाइन्।
३४औं मिनेटमा विमला चौधरीले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकिनन्। तर, दोस्रो हाफको इन्जुरी समयमा चन्द्रा भण्डारीले गोल थप्दै आर्मीलाई ३–० को एकपक्षीय जित दिलाइन्।