काठमाडौं। नेपोलीले आइतबार हेलास भेरोनाविरुद्ध २–० को सहज जित निकाल्दै सिरी ‘ए’ को शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको छ।
गोलकिपर लोरेन्जो मोन्टिपोको सुरुवाती आत्मघाती गोल र फ्राङ्क अङ्गुइसाको दोस्रो हाफको सानदार प्रहारले नेपोलीलाई जित दिलायो।
नेपोली ४७ अंकसहित सिरी ‘ए’ को शीर्ष स्थानमा छ। दुई खेल कम खेलेको इन्टर मिलानभन्दा नेपोली चार अंकले अघि छ। एटलान्टा एक अंकले पछाडि छ। भेरोना १९ अंकका साथ १७औं स्थानमा छ, रेलिगेसन जोनभन्दा माथि।
एन्टोनियो कोन्टेको टोलीले पाँच मिनेटभित्रै अग्रता लिएको थियो। जियोभानी डि लोरेन्जोको प्रहार पोस्टमा लागेर मोन्टिपोसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो।
पाहुना टोलीविरुद्ध नापोलीले खेलमा प्रभुत्व जमाए पनि पहिलो हाफमा आफ्नो अग्रता दोब्बर पार्ने धेरै अवसर खेर फाल्यो, जसमा रोमेलु लुकाकु र स्कट म्याकटोमिनायको प्रयास समावेश थियो।
तर, ६१औं मिनेटमा अङ्गुइसाले एक अविश्वसनीय प्रहार गर्दै जित सुनिश्चित गरे। अङ्गुइसाले आफ्नो गोल १३ वर्षीय फ्यान डानिएललाई समर्पित गरे। डानिएलले गत हप्ता फियोरेन्टिनाविरुद्धको ३–० को जितपछि क्यान्सरको कारण ज्यान गुमाएका थिए।
प्रशिक्षक कोन्टेले उक्त दुःखद समाचारका कारण मिडियासँग कुरा गरेनन्। ‘उनी साहसी थिए र हामीले सधैं उनको लागि जित्ने प्रयास गर्नुपर्छ भन्ने जान्दछौं। म खुसी छु कि हामीले आज उनको लागि खेलेर जित्यौं,’ अङ्गुइसाले भने। टोलीले उनको स्मृतिमा कालो ‘आर्मब्यान्ड’ लगाएको थियो।
नेपोलीले लिगमा लगातार पाँचौं जित हासिल गरेको छ। अब शनिबार तेस्रो स्थानको एटलान्टासँग टोली खेल्न जाँदैछ।