काठमाडौं। १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले आइतबार एफए कपको तेस्रो राउन्डमा आर्सनललाई पराजित गरेको छ। यता, टोटनह्यमले गैरलिग टोली तामवर्थविरुद्ध ठूलो चुनौती पार गर्न सफल भयो।
प्रिमियर लिगका टोलीहरू न्युकासल युनाइटेड, इप्सविच टाउन, क्रिस्टल प्यालेस र साउथह्याम्प्टनले पनि चौथो राउन्डमा स्थान सुरक्षित गरे भने चौथो श्रेणीको डनकास्टर रोभर्स पेनाल्टी सुटआउटपछि अगाडि बढ्न सफल भयो।
म्यानचेस्टर युनाइटेडका जोसुआ जिर्कजीले निर्णायक पेनाल्टी प्रहार गर्दै ५–३ को जित दिलाए। आर्सनलका काई हाभर्ट्जको प्रहार अल्टाय बायिन्डिरले सानदार बचाउ गरे।
‘म यो महान् टिमलाई सहयोग गर्न चाहन्छु,’ दोस्रो रोजाइका गोलकिपर बायिन्डिरले बिबिसीसँग भने, ‘म यो क्लबबाट खेल्दै सबैलाई खुसी बनाउन चाहन्छु। म खेलिरहेको छैन भने पनि कुनै फरक पर्दैन। युनाइटेडका खेलाडी भएपछि सधैं तयार हुनुपर्छ।’
युनाइटेडले खेलको ५२औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो, जुन एलेजान्द्रो गार्नाचोको उत्कृष्ट पासबाट सम्भव भएको थियो।
तर, खेल १० मिनेटपछि फेरि बदलियो। युनाइटेडका डियगो डालोटले मिकेल मेरिनोलाई गरेको खतरनाक ट्याकलका कारण दोस्रो पहेंलो कार्ड पाए।
त्यसको दुई मिनेटपछि बायिन्डिरको कमजोर पञ्चिङ प्रयासका कारण बल गाब्रिएलको खुट्टामा पुग्यो। म्याथियस डे लिग्टको डिफ्लेक्सनबाट गोलमा परिणत भयो।
हाभर्ट्जलाई ह्यारी म्याग्वायरले सामान्य फउल गरेको निहुँमा आर्सनललाई विवादास्पद पेनाल्टी दिइयो। तर, बायिन्डिर आर्सनलका कप्तान मार्टिन ओडिगार्डको पेनाल्टी बचाउन सफल भए।
गत वर्ष कोभेन्ट्री सिटीलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको थियो। सोही वर्ष युनाइटेड १३औं एफए कप उपाधि जित्न सफल भयो।