काठमाडौं। नेपाली यु–१६ राष्ट्रिय टोलीका गोलकिपर भक्तबहादुर परियारले ‘युनाइटेड वी प्ले’ अन्तर्गत उत्कृष्ट ६ खेलाडीमा छनोट भएर इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका खेलाडीसँग भेटलगायत प्रशिक्षणको विशेष अवसर पाएका छन्।
अपोलो टायरको उक्त कार्यक्रमको चौथो संस्करणमा १५ हजार फुटबलर सहभागी भएका थिए, जसबाट उत्कृष्ट ६ खेलाडी छनोट गरिएको थियो। र, भक्त युनाइटेड वी प्लेमा सहभागी हुँदै आफ्नो फुटबल कौशल प्रदर्शन गरेपछि भारत, थाइल्यान्ड र युएईका खेलाडीसँगै म्यानचेस्टर यात्रामा परे।
भक्तले गोलकिपर आन्द्रे ओनानालगायत युनाइटेडका खेलाडीसँग भेट्ने अवसर पाए। साथै, उनले युनाइटेडको मैदानमा प्रशिक्षणको अनुभव पनि लिए। प्रशिक्षणमा उनी म्यानचेस्टर युनाइटेड सकर स्कुल तथा क्लबका लेजेन्ड्सहरूसँगै थिए।
युनाइटेड एकेडेमीका मुख्य प्रशिक्षक निक कक्सले युनाइटेड वी प्ले क्लबको लागि पनि निक्कै आकर्षक कार्यक्रम रहेको उल्लेख गर्दै भने, ‘युवा र प्रतिभावान् खेलाडीका लागि यो एउटा जीवनकै महत्त्वपूर्ण अवसर हो। उनीहरूले क्यारिङटनमा रमाइलो गर्दै युनाइटेडको अनुभव लिए। फस्ट टिमको प्रशिक्षण पनि नियाले।’
युनाइटेडका पूर्वखेलाडी जोन ओसाले पनि युवा खेलाडीका लागि यो कार्यक्रम निक्कै अवसरको रूपमा आएको बताए।