काठमाडौं। लामिन यमल र गाभी पायेजको गोलसँगै बार्सिलोना स्पेनिस सुपर कपको उपाधिनजिक पुगेको छ। बुधबार सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओमाथि २–० को जित निकाल्दै बार्सिलोनाले फाइनलको यात्रा तय गरेको हो।
गाभीले खेलको १७औं मिनेटमा गोल गरे। यो गोल मध्यपंक्ति सम्हालिरहेका उनका लागि महत्त्वपूर्ण थियो। खुट्टा चोटका कारण लगभग एक वर्ष खेल बाहिर रहेपछि अक्टोबरमा उनी क्लबमा फर्किएका हुन्। त्यसयता उनको यो पहिलो गोल हो।
५२औं मिनेटमा उनकै क्रसमार्फत यमलले अर्को गोल गरे। १७ वर्षीय यमलले गोलकिपर उनाई सिमोनलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन्।
रियल मड्रिड र मल्लोर्काबीच अर्को सेमिफाइनल बिहीबार साउदी अरबको जेद्दाहमा हुनेछ। फाइनल आइतबार हुने तय छ।
फाइनलमा कुन प्रतिद्वन्द्वीसँग खेल्न चाहना छ भन्ने प्रश्नमा यमलले भने, ‘फाइनल कठिन हुनेछ। तर, जित्न हामी प्रतिबद्ध छौं, त्यो नै महत्त्वपूर्ण कुरा हो।’
एथ्लेटिकले दुई गोल पछि पर्दासम्म खासै ठूलो मौका सिर्जना गर्न सकेन। इञाकी विलियम्सले खेलको अन्त्यतिर गोल गरेका थिए। तर, भिएआरले अफसाइडका कारण त्यो गोल रद्द गर्यो।
यो हारले एर्नेस्टो भाल्भेर्डेको टोलीको सबै प्रतियोगितामा १५ खेलसम्मको अपराजित यात्रा टुंग्यायो। एथ्लेटिकले गत सिजनको कोपा डेल रेको विजेता भएर प्रतियोगितामा सहभागिता जनाएको हो। बार्सिलोनाले भने स्पेनिस लिगको उपविजेता रुपमा स्थान बनाएको हो।