काठमाडौं। चन्द्रा भण्डारी र विमला चौधरीको ह्याट्रिकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा वालिङ नगरपालिकामाथि दर्जन गोल बर्साएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा आर्मीले १२–० को फराकिलो जित निकालेको हो। फाइनल राउन्डमा यो अहिलेसम्मको सबैभन्दा फराकिलो जित हो। यसअघि एपिएफले वालिङलाई नै ९–० ले हराएको थियो।
योसँगै आर्मी सात अंकसहित नेपाल पुलिस क्लबलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल खेलेका दुई टोलीको समान सात अंक छ। तर, गोल अन्तरमा आर्मी अगाडि छ।
वालिङको भने यो लगातार तेस्रो हार हो। आर्मीको जितमा विमलाले सर्वाधिक चार गोल गरिन्। चन्द्राले तीन गोल गर्दा अञ्जना थुलुङ र सपना लामाले समान दुई/दुई गोल थपिन्। यस्तै, विमला विकको नाममा पनि एक गोल रह्यो।