काठामाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप अब ‘होम अर अवे’ फर्म्याटमा हुने भएको छ।
साफको बुधबार काठमाडौंमा बसेको कार्यकारी समितिको बैठक उक्त निर्णय गरेको हो। बैठकले १५औं संस्करण यही जुन १५ देखि जुलाई २५ सम्म आयोजना गर्ने तय गरेको छ।
‘हामी च्याम्पियनसिपलाई होम अर अवे फर्म्याटमा आयोजना गर्ने प्रयास गर्नेछौं। तर, कुनै समस्या आएमा यस वर्ष यो प्रतियोगिता केन्द्रीय फर्म्याटमा गराउनेछौं,’ साफका महासचिव अनवरुल हकले बैठकपछि भने। यसको मतलब सबै राष्ट्रले आफ्नो खेल घरेलु मैदानमा नखेल्न पनि सक्छन्। तर, सबै खेल एकै राष्ट्रमा पनि हुने छैन। अर्थात प्रतियोगिता एक भन्दा बढी राष्ट्रले आयोजना गर्नेछ।
सन् १९९३ देखि प्रतियोगिता सुरु भएको हो। सुरुआती दुई संस्करण भने सार्क गोल्डकपको नाममा भएको थियो। १९९७ देखि भने नाम परिवर्तन गरेर साफ च्याम्पियनसिप बनाइएको हो।
हालसम्म साफका १४ संस्करण आयोजना भइसकेको छ। ती सबै संस्करण केन्द्रीय फर्म्याटमा आयोजना भएका हुन्। तीमध्ये चारपल्ट भारत, तीनपल्ट बंगलादेश तथा दुई/दुईपल्ट नेपाल र पाकिस्तानले आयोजना गरेका थिए।
यस्तै, माल्दिभ्स र श्रीलंकाले समान एकपल्ट एकल र एकपल्ट संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका थिए। १४ मध्ये नौ संस्करणमा भारतले उपाधिमा कब्जा जनाएको छ। माल्दिभ्सले दुई तथा बंगलादेश, अफगानिस्तान र श्रीलंकाले समान एकपल्ट उपाधि हात पारेका छन्। अफगानिस्तानले भने सन् २०१५ देखि साफ छाडिसकेको छ।
नेपाल सन् २०२१ मा उपविजेता हुँदा पाकिस्तान र भुटान सेमिफाइनलबाट अगाडि बढ्न सकेका छैनन्। सन् २०२३ मा आयोजना भएको अन्तिम संस्करणमा साफका टोलीमध्ये कुवेत र लेवनानले पनि सहभागिता जनाएका थिए। फाइनलमा कुवेतलाई पेनाल्टी सुटआउटमा ५–१ ले पराजित गर्दै भारतले नवौंपल्ट उपाधि चुमेको थियो। नेपाल भने समूहचरणबाटै बाहिरिएको थियो।
बैठकले साफ च्याम्पियनसिप अब प्रत्येक दुई वर्षमा आयोजना गर्ने निर्णय पनि गरेको छ। अर्को वर्षदेखि आठ टोलीको सहभागितामा साफको पहिलो क्लब प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरिएको छ। एएफसी क्लब वरीयतामा शीर्ष स्थानमा रहेका दुई राष्ट्रलाई पनि स्थान दिइने हकले जानकारी दिए।
साफ महिला क्लब प्रतियोगिता पनि २०२५ देखि आयोजना गर्ने योजना बनाइएको छ। त्यसैगरी, २०२६ देखि साफ यु–२३ च्याम्पियनसिप पनि आयोजना हुने भएको छ।