साढे दुई महिनापछि महिला टोलीले पायो नगद पुरस्कार

काठमाडौं। गत असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले करिब साढे दुई महिनापछि सरकारबाट नगद पुरस्कार पाएको छ।
गत कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित उक्त प्रतियोगिताको फाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल छैटौंपल्ट उपविजेता भएको थियो।
लगत्तै सरकारले नगद सम्मान गर्ने घोषणा गरेको थियो। तर, उक्त नगद सम्मान तिहारलगत्तै गरिने भनेता पनि करिब साढे दुई महिनापछि सरकारले आफ्नो प्रतिबद्धता पूरा गरेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीले २३ खेलाडीसहित २८ सदस्यीय टोलीलाई ७४ लाख ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेका हुन्।
खेलाडीहरू अञ्जिला तुम्बापो सुब्बा, पूजा राना, अमृत जैसी, हिराकुमारी भुजेल, रेनुका नगरकोटे, सरु लिम्बू, रश्मिकुमारी घिसिङ, गीता राना, प्रीति राई, सविता रानामगर, अमिषा कार्की, उषा नाथ, विमला विक, समीक्षा घिमिरे, अनिता बस्नेत, रेखा पौडेल, अनिता केसी, विमला चौधरी, अञ्जना रानामगर, निशा थोकर, सजनी ठोकर, दीपा शाही र सावित्रा भण्डारीले जनही तीन लाख रुपैयाँ पाए।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दुई लाख, सहायक प्रशिक्षक भगवती थापा र सहायक प्रशिक्षक (गोलकिपिङ) विनोद महर्जनले समान ६०–६० हजार तथा व्यवस्थापक विन्द्रा देवान र फिजियोथेरापिस्ट नवीना श्रेष्ठले समान एक लाख २० हजार प्राप्त गरे।
अञ्जिला, पूजा, अमिषा, समीक्षा, रेखा, सजनी र सावित्रा भने कार्यक्रममा उपस्थित थिएनन्। अञ्जिला, रेखा र सावित्रा व्यवसायिक लिग खेल्न विदेशमा छन्।








-1763904378702.png&w=3840&q=75)




