काठमाडौं। अन्तिम १२ मिनेट सम्हालिन नसक्दा हिमालयन शेर्पा फुटबल क्लबले एन्फा यु–१६ युथ लिगमा विभागीय टोली नेपाल पुलिस क्लबसँग अंक बाँडेको छ।
यद्यपि, पहिलो खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबसँग ५–० ले पराजित भएको शेर्पा एक अंक हात पार्न सफल भएको छ। पुलिसको भने यो पहिलो बराबरी हो। यसअघि पुलिसले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ७–० ले हराएको थियो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार शेर्पालाई ३–३ को बराबरीमा रोक्न पुलिसका समीर कुमारले ह्याट्रिक गरे। शेर्पाका सुजन स्याङ्तान पनि ह्याट्रिक नै गरेका थिए।
२७औं मिनेटमा सुजनको गोलमार्फत शेर्पाले सुरुआती अग्रता बनाएको थियो। त्यसको पाँच मिनेटपछि नै समीरले पुलिसलाई खेलमा फर्काए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा सुजनले अर्को गोल गरे। तर, ४९औं मिनेटमा समीरले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।
७६औं मिनेटमा सुजनले ह्याट्रिक पूरा गर्दै शेर्पालाई ३–२ को अग्रता दिलाए। तर, त्यसको दुई मिनेटपछि नै समीरले पनि ह्याट्रिक गरे र पुलिसलाई खेलमा फर्काए।