काठमाडौं। अमद डायलोले अन्तिम १० मिनेटमा गोल गर्दै प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक खोसेका छन्। एनफिल्डमा आइतबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली लिभरपुललाई २–२ को बराबरीमा रोकेको हो।
युनाइटेडले सन् २०१६ पछि एनफिल्डमा जित्न सकेको छैन। तर, यो खेलबाट युनाइटेड यसपटक एक अंक लिन सफल भएको छ। ‘हामीलाई निष्पक्ष आलोचना गरिएको छ किनभने तालिकामा हाम्रो स्थानले सबै कुरा बताउँछ,’ कप्तान ब्रुनो फर्नान्डेजले भने, ‘दुबै टोलीले राम्रो फुटबल खेले, तर हामी सन्तुष्ट हुन सक्दैनौं। हामी यो प्रदर्शन किन हरेक हप्ता देखाउन सक्दैनौं भन्नेमा निराश छौं।’
एलेजान्ड्रो गार्नाचोको क्रसमा डायलोले ८०औं मिनेटमा बललाई जाली चुमाए, जुन गोलले मोहम्मद सलाहको पेनाल्टीद्वारा लिभरपुललाई जितको नजिक पुगेको अवस्थामा खेललाई बराबरीमा फर्कायो। पछिल्लो सिजन डायलोले एफए कपमा अतिरिक्त समयमा गोल गर्दै युनाइटेडलाई लिभरपुलविरुद्ध ४–३ को नाटकीय जित दिलाएका थिए। यस्तै, गत महिना उनले म्यानचेस्टर सिटीविरुद्ध ९०औं मिनेटमा निर्णायक गोल गरेका थिए।
तर, आइतबारको गोलले युनाइटेडलाई केवल एक अंक मात्रै दिलायो। यसले युनाइटेडको चार खेलको हारको शृंखला रोक्यो। यता, लिभरपुलले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाउने अवसर गुमायो।
१९ खेल खेलेको लिभरपुलले ४६ अंक पुर्याएको छ। दोस्रो स्थानमा रहेको आर्सनलको भने ४० अंक छ। आर्सनलले एक खेल बढी खेलेको छ। तर, अर्को खेल जितेर लिभरपुललाई अग्रता बढाउने दवाबमा हुनेछ।
युनाइटेड भने २३ अंकसहित १३औं स्थानमा उक्लिएको छ। युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिम भने यो प्रदर्शनबाट खुसी देखिएनन्। ‘यो एउटा अंक हो, योग्य अंक। हामीले आज निराश हुनुपर्छ। यो जित्नुपर्ने खेल थियो,’ अमोरिमले भने।
युनाइटेडले ५२औं मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, त्यसको सात मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरे।
सलाहले ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। यो पेनाल्टी युनाइटेडका माथियस डे लिग्टले बल हातले छोएको भन्दै भिएआर समीक्षापछि दिइएको थियो।
तर, खेलको अन्तिम समयमा गार्नाचोले डायलोलाई क्रस उपलब्ध गराउँदै खेललाई २–२ को बराबरीमा पुर्याए। ‘हामीले खेलभरि धेरै अवसर सिर्जना गर्यौं। एक अंक लिनु एउटा उपलब्धि हो, तर खेल हेरिसकेपछि हामीलाई थप अंकको आशा थियो,’ लिभरपुलका प्रशिक्षक आर्ने स्लोटले भने।