काठमाडौं । इशाश्री शाह र रायना शाहको जोडी १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स डबल्समा च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको फाइनलमा इशाश्री र रायनाको जोडीले सुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मीको जोडीलाई ७–६(६) र ६–४ को सेटमा पराजित गरे ।
ब्वाइज डबल्समा चिराग तिमिल्सना र राजवीर प्रधानको जोडी पहिलो भए । चिराग र राजवीरको जोडीले फाइनलमा आरभसम्राट हाडा र प्रणव मानन्धरको जोडीलाई ६–४, ३–६ र १०–४ को सेटमा हराए ।
मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–८ ब्वाइज सिंगल्समा असभ हाडाले स्वर्ण जिते । उनले फाइनलमा सम्खाहाङ राईलाई १२–१० र १०–७ को सोझो सेटमा पाखा लगाए । सोही स्पर्धाको गल्र्स फाइनलमा शिभाली गुरुङ विजेता बनिन् । शिभालीले उपाधि भिडन्तमा साम्राज्ञी लामाको चुनौती १०–७ र १०–७ को सीधा सेटमा समाप्त पारिन् ।
यु–१० गल्र्स सिंगल्समा प्रतिष्ठा लामाले फाइनल यात्रा तय गरिन् । दोश्रो सेमिफाइनलमा प्रतिष्ठाले शैभी ढकालमाथि ६–४ र ६–३ को जित निकालिन् । फाइनलमा प्रतिष्ठाको भेट पहिलो सेमिफाइनलकी विजेता समृद्धि महर्जनसंग हुनेछ ।
यु–१२ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले उत्शा लामालाई ६–३ र ६–१ तथा इभा अधिकारीले अद्या पौडेललाई ६–० र ६–० को सोझो सेटमा निराश पार्दै उपाधि भिडन्त पक्का गरे । त्यसै स्पर्धाको ब्वाइजमा प्रणव मानन्धरले आयुशमान हजुर घलेलाई ६–३ र ६–१ तथा सरोज तामाङले ऋदभिक कार्कीलाई ६–० र ६–० को सीधा सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।
यु–१४ ब्वाइज सिंगल्समा आरभसम्राट हाडाले चिराग तिमिल्सनालाई ६–१ र ६–१ तथा आर्यन गिरीले प्रीतम परियारलाई ७–५, १–६ र १०–७ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । प्रतियोगिताको अन्तिम दिन शनिबार ६ स्पर्धाको फाइनल हुनेछ ।