काठमाडौं। प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलका लागि शनिबार निक्कै राम्रो दिन रह्यो। यो दिनमा उस्का दुई मुख्य प्रतिद्वन्द्वी आर्सनल र चेल्सीले नतिजा निकाल्न सकेन।
ब्राइटनसँग आर्सनल १–१ को बराबरीमा रोकियो। ब्राइटनले जाओ पेड्रोको पेनाल्टी गोलबाट बराबरी हासिल गरेको हो। यसले आर्सनललाई लिभरपुलसँगको अन्तरलाई तीन अंकमा झार्ने अवसर गुमाउन बाध्य बनायो।
इथन एनवानेरीले आर्सनलका लागि अग्रता दिलाएका थिए। १७ वर्षको उमेरमा उनी प्रिमियर लिगमा धेरै गोल गर्ने छैटौं खेलाडी बने। हावामा रहेको बलको लागि प्रतिस्पर्धा गर्दा पेड्रोसँग आर्सनलका डिफेन्डर विलियम सलीबा ठोक्किएको भन्दै ब्राइटनलाई पेनाल्टी दिइएको थियो।
आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटाले यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘मेरो करियरमा यस्तो निर्णय कहिल्यै देखेको छैन। मैले खेलाडीहरूलाई सोधें, कसैले पनि यस्तो देखेका छैनन्।’
यता, चेल्सीको प्रिमियर लिगमा जितविहीन यात्रा चार खेलसम्म लम्बिएको छ। चेल्सीले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेलेको हो। क्रिस्टल प्यालेसका लागि जीन-फिलिप माटेटाले ८२औं मिनेटमा बराबरी गोल गरे। यो गोलले कोल पामरको सुरुआती अग्रतालाई ब्यर्थ सावित गर्यो।
चेल्सीले डिसेम्बर २२ यता दुई खेल बराबरी खेलेको छ र दुई खेलमा पराजित बेहोरेको छ। यसले शीर्ष स्थानका लागि सम्भावना बनाउँदै गरेको चेल्सीको प्रयासमा धक्का पुर्याएको छ। यद्यपि, मुख्य प्रशिक्षक एन्जो मारेस्काले आफ्नो टोलीलाई उपाधि दावेदार मान्न अस्वीकार गर्दै आएका छन्।
चेल्सीका विंगर जाडोन सान्चोले भने, ‘हामीले धेरै अवसर सिर्जना गर्यौं, तर अन्तिम परिणाम निकाल्न सकेनौं। हामी उही शैलीको फुटबल खेलिरहेका छौं र १०० प्रतिशत प्रयास गरिरहेका छौं। यो फुटबलमा कहिलेकाहीँ यस्तो हुन्छ।’
लिभरपुलले आर्सनललाई पाँच र चेल्सीलाई नौ अंकले पछि पारेको छ। ४५ अंक जोडेको लिभरपुलले यी दुवै प्रतिद्वन्द्वीभन्दा दुई खेल बढी खेल्न बाँकी छ। पहिलो खेल आइतबार म्यानचेस्टर युनाइटेडसँग घरमै हुनेछ।