काठमाडौं। एर्लिङ हलान्डको जोशिलो प्रदर्शनसँगै म्यानचेस्टर सिटीले शनिबार प्रिमियर लिगमा वेस्ट ह्याममाथि ४–१ को शानदार जित दर्ता गरेको छ।
योसँगै सिटीले पछिल्ला कमजोर नतिजाहरूबाट उबरिएको संकेत दिएको छ। यो जितसँगै सिटीले लिगमा अक्टोबरको अन्त्ययता पहिलो पटक लगातार दुई जित हात पारेको हो।
गत ६ हप्तामा सिटीले ९ मध्य एक खेल मात्रै जित्न सफल भएको थियो, जसले टोलीलाई च्याम्पियन्स लिग क्वालिफिकेसन स्थानबाट बाहिर पुर्याएको थियो र प्रशिक्षक पेप गार्डिओलाको पुनर्निर्माण क्षमतामाथि प्रश्न उठाएको थियो।
शनिबारको खेलमा भ्लादिमिर कौफलको आत्मघाती गोलबाट सिटीले अग्रता लिएको थियो। त्यसमा हलान्डले दुई गोल गर्दै टोलीलाई जिततर्फ डोर्याए। उनले पहिलो हाफको ४२औं मिनेटमा साभिन्होको क्रसमा हेडर गोल गरे। ५५औं मिनेटमा साभिन्होकै पासमा उनले अर्को गोल थपे।
हलान्डका यी प्रदर्शनले सिटीको आक्रमणमा नयाँ ऊर्जा ल्याएको देखिन्छ। साथै, फिल फोडेनले अर्को गोल गरे भने वेस्ट ह्यामका निक्लास फुलक्रुगले सान्त्वना गोल फर्काए। जितपछि गार्डिओलाले नतिजाबाट खुशी व्यक्त गरे पनि टोली अझै पुरानै लयमा नरहेको स्वीकार गरे। ‘परिणामले सन्तोषजनक राहत दिएको छ। तर, हामी अझै पनि पहिलेजस्तो भएका छैनौं। विभिन्न कारणले गर्दा संघर्ष गरिरहेका छौं,’ उनले भने।
यस जितपछि २० खेलबाट ३४ अंक पुर्याए पनि सिटी छैटौं स्थानमै छ। तर, शनिबार आर्सनल र चेल्सी दुबैले बराबरी खेलेपछि सिटीले उनीहरूसँगको दूरी घटाएको छ।
हलान्डको जोशिलो प्रदर्शनले सिटीलाई आत्मविश्वास पुनःस्थापित गर्न मद्दत पुर्याएको छ। अब आगामी खेलहरूमा टोलीले निरन्तरता दिनसक्छ भने सिजनको लक्ष्य हासिल गर्न सक्ने सम्भावना छ। सिटी अझै पनि आफ्नो पुरानो लयमा फर्किन प्रयासरत छ, तर यो जितले टोलीको आत्मबललाई बलियो बनाउने देखिन्छ।