काठमाडौं। चित्लाङ फुटबल क्लबले दोस्रो संस्करणको बागमती प्रदेश लिगको उपाधि जितेको छ। फाइनलमा दोलखाको टाइगर टिमलाई ३ –० ले पराजित गर्दै चित्लाङले उपाधि चुमेको हो।
चित्लाङका सुजित बुढाथोकीले २ र आयुष कुँवरले १ गोल गरे। चित्लाङ र टाइगर अखिल नेपाल फुटबल संघले आयोजना गर्ने एन्फ प्रेसिडेन्ट लिगका लागि छनोट पनि भएको छ।
चित्लाङको सुजित बुढाथोकी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई १५ हजार हात पारे। चित्लाङको सुन्दरचन्द श्रेष्ठ वेस्ट किपर, जनक कोइराला वेस्टडिफेन्स, विज्ञान खड्का वेस्ट मिडफिल्डर, रुपेश क्षेत्री वेस्ट कोच घोषित भए भने टाइगर टिमका सुजन माझी वेस्ट स्ट्राइकर चुनिए।
व्यक्तिगत विधातर्फ उत्कृष्ट भएका खेलाडीहरूले ५ हजार प्राप्त गरे। विजेता चित्लाङले दुई लाख र उपविजेता टाइगर टिमले १ लाख नगद हात पार्यो।
बागमती प्रदेश फुटबल संघद्धारा हेटौँडास्थित पिप्ले क्याम्पा रंगशालामा लिग कम नकआउटको आधारमा पुस १० गतेदेखि सञ्चालित खेलमा जिल्ला लिग च्याम्पियन क्लबहरू पदम पोखरी युवा क्लब(मकवानपुर), विएफसी (चितवन), धुनिवेसी युथ समाज (धादिङ), वट्टार युथ क्लब (नुवाकोट), चित्लाङ फुटबल क्लब (काठमाडौं), थिमी युथ क्लब (भक्तपुर), माउन्ट एभरेस्ट एफसी (काभ्रे), चौतारा स्पोटिङ्ग (सिन्धुपाल्चोक), टाइगर टिम (दोलखा), ब्लु अल्पाइन (सिन्धुली) र ललितपुरबाट लक्की स्टार क्लबको सहभागिता रहेको थियो।