पथरी। पथरीशनिश्चरे नगरपालिकाले अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। प्रस्तावित बुद्ध रंगलामा शनिबार भएको फाइनलमा लेटाङ नगरपालिकालाई ३-१ ले पराजित गर्दै पथरीशनिश्चरेले उपाधिमा कब्जा जमाएको हो।
सुरुआती अग्रता जोगाउन नसक्दा लेटाङ उपविजेतामा सीमित भयो। पथरीशनिश्चरेले उपाधिसहित एक लाख नगद प्राप्त गर्दा लेटाङले ५० हजार रुपैयाँमा चित्त बुझायो।
फाइनल खेलमा लेटाङका लागि सौलेन तामाङले सुरुआती अग्रता दिलाएका थिए। उनको २१ औं मिनेटमा गोल गरे।
दोस्रो हाफमा पथरी खेलमा फर्कियो। पथरीशनिश्चरेका सौर्य राउतले दोस्रो हाफको ८ औं मिनेटमा बराबरी गोल गरे। राउतले नै त्यसको सात मिनेटपछि अर्को गोल गर्दै २-१ को अग्रता बनाए । पथरीशनिश्चरेका लागी दोस्रो हाफको ३४ औं मिनेटमा मिक्चेन दासले गोल गरे।
खेलको म्यान अफ द म्याच पथरीशनिश्चरेका राउत घोषित भए। विधागत उत्कृष्टमा पथरीशनिश्चरेका समीर क्षेत्री उत्कृष्ट गोलकिपर, पथरीशनिश्चरेका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लेटाङका सन्दीप ठाडामगर उत्कृष्ट मिडफिल्डर तथा पथरीशनिश्चरेका सौरे राउत उत्कृष्ट स्ट्राइकर घोषित भए। पथरीशनिश्चरेका मिक्चेन दास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। लेटाङका सौगात राई उदीयमान खेलाडी घोषित भए।
उज्यालो जीवन प्रतिष्ठानको आयोजना तथा चिसाङ भ्याली क्लबको सह आयोजनामा प्रतियोगिता भएको हो।