काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगको फाइनल राउन्डमा वालिङ नगरपालिकाविरुद्ध गोलको वर्षा गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको पहिलो खेलमा पुलिसले ५-० को एकपक्षीय जित हात पारेको जितसँगै तीन अंक जोडेको पुलिस शीर्ष स्थानमा उक्लिएको छ।
अनुश्का शेर्पा र सम्झना लावतीले गोल गर्दै पुलिसलाई पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको तीन मिनेटमै पुलिसले अर्को दुई गोल थप्यो। ४६औं मिनेटमा पूजा र त्यसको दुई मिनेटपछि अनुश्काले अर्को गोल गरिन्। ६०औं मिनेटमा सम्झनाले पनि व्यक्तिगत दोस्रो गोल थपेसँगै पुलिस ५-० ले विजयी भयो।