काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनको लागि खेलाडीको ‘अक्सन’ फेब्रुअरी तेस्रो साता हुने भएको छ।
धेरै अघि गर्नु फाइदाजनक नभएकाले प्रतियोगिताको एक महिनापूर्व अक्सन गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) का प्रबन्ध निर्देशक श्रेयांश कार्कीले बताएका छन्।
‘अरू इभेन्ट्ससँग नजुध्ने गरी अक्सनको तयारी फेब्रुअरी तेस्रो साताको लागि गरेका छौं,’ उनले खेलपाटीसँग भने, ‘खेलाडी घाइते हुने, बाहिर जाने, क्लबसँग आबद्ध हुनसक्ने भएकाले अक्सन धेरै अगाडि गर्दा त्यति फाइदा हुँदैन। प्रतियोगिता सुरु हुनुभन्दा एक महिनाअघि मात्रै अक्सन गर्ने लक्ष्यमा छौं।’ एनएसएलको तेस्रो सिजन २९ मार्च (चैत १६) देखि सञ्चालजन गर्ने घोषणा गरिसकेको छ।
पहिलो संस्करण २०२१ अप्रिल २४ देखि मे १५ सम्म भएको थियो, जसको उपाधि काठमाडौं रेजर्सले उचालेको थियो। २०२४ नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म भएको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो। दशरथ रंगशालामा आयोजित दुवै संस्करणको फाइनलमा धनगढी एफसी रोकिएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षे सम्झौता गर्दै सन् २०१९ जनवरीमा एनएसइएमलाई एनएसएल आयोजना गर्ने अधिकार सित्तैमा दिएको थियो।
उपत्यकाका क्लबहरूले चर्को विरोध गरेपछि २०२२ डिसेम्बरमा एन्फालाई १७ करोड रुपैयाँभन्दा बढी तिर्ने गरी एनएसइएमले आठ वर्षको लागि एनएसएल आयोजना गर्ने अधिकार पाएको थियो। पहिलो वर्ष एनएसइएमले एन्फालाई एक करोड ५० लाख बुझाउने र त्यसपछि बर्सेनि १० प्रतिशत थपिने सम्झौता रहेको छ।