पथरी। लेटाङ नगरपालिका बिहीबार लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रस्तावित बुद्ध रंगशालामा भएको दोस्रो सेमिफाइनलमा कानेपोखरी गाउँपालिकालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै लेटाङ उपाधिनजिक पुगेको हो।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। लेटाङले उपाधिका लागि शनिबार पथरीशनिश्चरे नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
पथरीले हिजो सुन्दरहरैंचा नगरपालिकालाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ। उज्यालो जीवन प्रतिष्ठान र चिसाङ भ्याली क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा उत्तरी मोरङका आठ पालिकाहरूको सहभागिता छ। प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।