काठमाडौं। स्पेनिस ला लिगाले क्याटलान क्लब बार्सिलोनाले ‘फाइनान्सियल फेयर प्ले’ नियम पालना गर्न नसकेको आरोप लगाएको छ।
बार्सिलोनाले कुनै वैकल्पिक योजना प्रस्तुत नगरेको बताएको छ। यस्तै, जनवरी २ बाट खेलाडी दर्ता गर्न क्लबले पालना गर्नुपर्ने नियम पनि अवज्ञा गरेको लिगको आरोप छ।
ड्यानी ओल्मोलाई दर्ता गर्न र आर्थिक समस्या समाधान गर्न बार्सिलोनाले उपाय प्रस्तुत गर्दै लिगबाट स्वीकृत गराउनु आवश्यकता थियो। तर, सोमबार न्यायालयले उनलाई दर्ता गराउन माग गरेको रिटविरुद्ध दोस्रोपल्ट फैसला गरेको हो। अदालतको आदेश वा लिगको स्वीकृतिबिना कुनै खेलाडी क्लबमा दर्ता हुन सक्दैन। स्पेनका अन्तर्राष्ट्रिय खेलाडी ओल्मो अगस्टमा जर्मन क्लब लाइपजिगबाट बार्सिलोनामा आएका थिए।
बार्सिलोनाले करिब १०० मिलियन यूरोको सम्झौतामार्फत नवनिर्मित क्याम्प नोउ स्टेडियमको भीआईपी सिट बिक्री गर्ने योजना बनाएको छ। यसबाट खेलाडी ओल्मो र अग्रपंक्तिका खेलाडी पाउ भिक्टरलाई दर्ता गर्न पर्याप्त आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्पेनिस लिगमा प्रत्येक क्लबको लागि तलब सीमा तोकिएको हुन्छ। जुन राजस्व, लागत र ऋणजस्ता विभिन्न कारकका आधारमा गणना गरिन्छ। यो तलब सीमा क्लबको कुल राजस्वको लगभग ७० प्रतिशतसम्मको अनुपातमा तोकिएको हुन्छ।
बार्सिलोना हालका वर्षमा आफ्नो आर्थिक समस्याका कारण केही खेलाडीलाई समयमै दर्ता गर्न असमर्थ देखिएको छ। यसै समस्याअन्तर्गत क्लबले भविष्यका टेलिभिजन राइटर्सको बिक्री लगायतका विभिन्न आर्थिक उपायहरूको सहारा लिँदै आएको छ। यी समस्याले सन् २०२१ मा लिओनल मेसीलाई क्लबबाट बिदाइ गर्नुपर्ने स्थितिसमेत निम्त्याएको थियो।