पथरी। लेटाङ नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
प्रस्तावित बुद्ध रंगशालामा मंगलबार सम्पन्न खेलमा केराबारी गाँउपालिकालाई ३–० ले पराजित गर्दै लेटाङले अन्तिम चारमा स्थान पक्का गरेको हो। योसँगै प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ।
फाइनल प्रवेशका लागि बुधबार पथरीशनिश्चरे र सुन्दरहरौंचा प्रतिस्पर्धा गर्ने छ्न्। लेटाङले भने बिहिबार कानेपोखरीलाई चुनौती पेस गर्नेछ । नेपाली राष्ट्रिय टोलीका सदस्य अभिषेक लिम्बू मैदान उत्रिएको खेलमा लेटाङले एकपक्षीय जित हात पार्यो। लेटाङको जितमा सौगात राई, सन्दीप मगर र अनिस श्रेष्ठले गोल गरे।
सौगतले खेलको सातौं मिनेटमै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। सन्दीपले १५ र अनिसले इन्जुरी टाइममा गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्याए। खेलको म्यान अफ द म्याच लेटाङका गोलकिपर भरत मगर घोषित भए ।