काठमाडौं। संकटा फुटबल क्लबले जितसहित शीर्ष तीन भित्र रहने पक्का गर्दै ललित स्मृति एन्फा यु–१६ युथ लिग सक्काएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार संकटाले विभागीय टोली एपिएफलाई ३–१ ले पराजित गरेको हो।
योसँगै संकटाले २२ खेलमा ४५ अंक पुर्याउँदै दोस्रो स्थानमा उक्लियो। यता एपिएफले भने ३२ अंकसहित छैटौं स्थानमा रहेर लिग सक्कायो। मंगलबार नै हुने दोस्रो खेलमा लिग विजेता भइसकेको नेपाल पुलिस क्लबसँग एनआरटी पराजित भए या बराबरी खेले संकटाले दोस्रो स्थान हात पार्ने छ।
सुनिल थिङले १८औं मिनेटमै एपिएफलाई सुरुआती अग्रता दिलाएका थिए। तर, आठ मिनेटमा दुई गोल गर्दै संकटा खेलमा फर्कियो। ६२औं मिनेटमा सुदीप लामाले गोल गर्दै संकटालाई खेलमा फर्काए। त्यसको आठ मिनेटपछि दिलान लिम्बूले अर्को गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए। निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा कृष्णबहादुर आलेले अर्को गोल गर्दै संकटाको जित सुनिश्चित गरे।